प्रविधिमा रोजगारी सिर्जना
एउटा यस्तो संसारको परिकल्पना गरौं जहाँ कोहि उच्च माध्यमिक शिक्षा हासिल गरेको सामान्य व्यक्तिले महिनामा कम्तिमा एक लाख रुपैयाँ कमाउन सक्छ । घर बसेर, आफ्नो परिवारका नजिक, देश प्रविधिमा अघि बढ्ने र साथै परिवार पनि सँगै हुनेछन् । नेपाललाई यस्तो देशको कल्पना गरौँ जसले प्रविधिमा आधारित संसार भरिका व्यवसायहरु र उद्यमीहरु आकर्षित गर्छ र तिनलाई सफल बनाउने वातावरण प्रदान गर्छ । हजारौँको संख्यामा ठूला टेक कम्पनीहरुले नेपाली टेक कर्मचारीहरुलाई रोजगारी दिएको कल्पना गरौं । नेपालमै बनेका एपहरुले एप स्टोर र प्ले स्टोर भरि भएको कल्पना गरौँ ।
यो सपना वास्तविकताभन्दा धेरै टाढा छैन । यो सपना, अबको दस वर्षमा नेपालको भविष्य भन्न सक्छ । यसका लागि हामीले हाम्रो शिक्षामा लगानी देखि विद्युतीय पूर्वाधारको विकास र आवश्यक कानूनको मस्यौदा लगायात सारा प्रविधि पारितन्त्रलाई नयाँ संस्करणमा लग्न सक्नुपर्छ ।
शिक्षा: हाम्रो शैक्षिक प्रणालीले हाम्रा विद्यार्थीहरुको रोजगारी पाउने क्षमतामा के असर गरेको छ? शिक्षामा हुने लगानीले स्नातक पश्चात् विद्यार्थीहरुलाई आवश्यक सीप र उनीहरुको रोजगारीतामा ध्यान दिनुपर्छ । बुटक्याम्प, तालिम जस्ता अनौपचारिक शैक्षिक विधिहरुको प्रयोग गरेर प्राविधिक सिपमा दक्ष मानव संसाधनको वृद्धि गर्न प्राथमिकता दिईनेछ । यस्ता तालिम र बुटक्याम्पबाट तालिमप्राप्त व्यक्तिहरुलाई विभिन्न प्राविधिक रोजगारी प्राप्त गर्ने प्रक्रियामा पनि साथ दिईने छ ।
कानूनी पूर्वाधारहरु: प्रविधि समबन्धी कम्पनीहरुमा संग्लनता बढाउन कस्ता कर सम्बन्धी कानूनहरु आवश्यक छन् ? कस्ता कर छुटहरु, नव-उद्यमीका लागि अनुदानहरु र सरकारी ऋणहरु तथा ग्यारेन्टीहरु जरुरी छन्? डाटा सेन्टर, डाटा भण्डारण, साइबर सुरक्षा, डिजिटल हस्ताक्षर, क्लाउड सम्बन्धी कस्ता नीति निर्माण गर्नुपर्छ? यसलाई मूर्त रुप दिन हामीले चैत ४, २०७९का दिन एक विधेयक मन्थन कार्यक्रम आयोजना गरेका थियौँ ।