सभालाई सम्बोधन, माघ ७, २०७९
यस गरिमामय सदनमा यो मेरो पहिलो सम्बोधन हो । आजकल राजनीतिक वृत्तमा एउटा शब्द खुबै चर्चामा छ - ‘विज्ञता’ । तसर्थ आज म जे बोल्न गइरहेको छु, त्यससम्बन्धी मेरो अनुभव बताइहालौँ । मैले मासाचुसट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) बाट एमबिए गरेर विगत १० वर्षदेखि व्यवस्थापन परामर्शदाताका रूपमा काम गरेको छु । प्रणाली र संरचनाको निर्माण र समयको उचित व्यवस्थापन सिक्न र सिकाउनमा जीवनको महत्त्वपूर्ण हिस्सा बिताएको छु ।
आफ्नो अध्ययन र अनुभवका आधारमा म आज दुइटा विषयमा बोल्छु । पहिलो - संसदीय क्यालेन्डर र दोश्रो- माननीय इन्दिरा राना मगरलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको समर्थन ।
यस प्रतिनिधिसभा सदस्यका रूपमा, यो छोटो समयमा मैले हाम्रो राजनीतिमा काम गर्ने संरचना र संस्कारको पूर्ण अभाव महसुस गरेको छु । हामीसँग प्रशस्तै योजना छन्, प्रतिबद्धता छन्, बाचा छन् तर स्पष्ट मार्गचित्र छैन । समयसीमा छैन । यो संरचनागत समस्या बाहिरबाट प्रष्ट देखिएन, जनमुखी नतिजा नआएको देखेर मात्र हामी निराश भइरहेका थियौँ तर सिस्टम नै ध्वस्त रहेछ ।
हामीले भ्रष्टाचारको फाइल खोल्ने भनेका छौँ । उच्चस्तरीय आयोग बनाउने भनेका छौँ । यो कहिले गर्छौँ ? अर्को चुनाव आउने बेलाको ठिक अगाडि ? अनि समय अपुग भो भन्दै फेरि यसैलाई चुनावी एजेन्डा बनाउने कि अहिल्यै सुरु गर्ने ?
सरकारी अस्पतालमा स्वास्थ्यकर्मीको दरबन्दी अपुग भएको प्रतिवेदनहरू कहिले पढ्छौँ ? १६% ब्याजदर भइरहँदा कतिवटा व्यवसाय बन्द हुने हुन् ? मिटर ब्याजको चक्रमा पिल्सिएका तमाम निमुखा नागरिकलाई हामी अब कति महिनामा पीडामुक्त गरिसक्छौँ ?
नागरिक उड्ययन प्राधिकरणमा आधारभूत सुधार ल्याउनका लागि अझै कति हवाई दुर्घटना हुनुपर्ने हो ? हवाईउड्डयन मौसम शाखा अझै २०४४ सालको दरबन्दीमा चलिरहेको छ भनेर कहिले बुझ्छौँ ? यसका लागि सदनको क्यालेन्डर खोइ ? हामीलाई अब दह्रो राजनीतिक इच्छा शक्ति चाहिन्छ । इमान्दार भएर निश्चित समयसीमाका साथ प्रणालीगत र प्रक्रियागत सुधारमा नलागि सुखै छैन ।
हामीले सुधार र सुशासनको ठूल्ठूला बाचा गरेका छौँ। त्यसका लागि हामीलाई हतार पनि होला । यसैले त राणाशासन र पञ्चायतमा गरिने हुकुम र आदेशहरु जस्तै अहिले निर्देशन आउन थालेका छन् । तर हुकुम, आदेश र निर्देशनबाट स्थायी समाधान आउदैन भन्ने हामीले अनुभव गरिसकेका छौँ । त्यसको परिवर्नको सुरुवात यस गरिमामय सदनबाटै गरौँ । एउटा संसदीय क्यालेन्डर बनाऔँ, प्राथमिकता निर्धारण गरौँ र त्यसलाई कडाइका साथपालना गरेर अघि बढौँ ।
यति भए संसद समयसीमा भित्र बाधिन्छ । हामी नागरिकप्रति उत्तरदायी र जवाफदेही बन्छौं, स्वमूल्यांकनको आधार तयार गर्छौँ । संसद बाहिर सांसदले गर्नु पर्ने काम र जिम्मेवारीका लागि समय विभाजन गर्न सक्छौँ ।
सभामुख महोदय, हामी काम गर्न भनेर आएका छौँ । त्यसकारण यस गरिमामय सदनलाई आक्षेप, व्यङ्ग्य, दोषारोपण र राजनीतिक खिचातानीको मात्रै थलो नबनाऔँ ।
म यस सदनबाट आदरणीय मतदाता जनसमुदायलाई पनि सम्बोधन गर्न चाहन्छु । यहाँहरुको सहनशीलता र धैर्य देखेर म त आश्चर्यचकित छु । हरेक चुनावमा कहिले स्थायित्व, कहिले समृद्धि त कहिले विज्ञताको भाषण सुनेर हामीलाई पत्याइरहनु भएको छ । अब जनप्रतिनिधीहरु आउँदा फूलका गुच्छा र अबिरमाला होइन, प्रश्न र खबरदारी गर्ने बेला भएको छ । प्रतिबद्धता पूरा हुने स्पष्ट कार्ययोजना माग्ने बेला आएको छ ।
यी सबै एजेन्डासँग सकारात्मक रहनु हुने माननीय इन्दिरा राना मगर सन् २०१७ मा बिबिसीको विश्वका एक सय प्रेरणादायी महिलाको सूचीमा पर्नु भएको तथा आफ्नो सामाजिक कामबाट धेरै जनाको लागि ममतामयी आमा भनेर सम्बोधन गर्ने व्यक्ति पर्नुहुन्छ । उपसभामुखका रूपमा उहाँको उपस्थिति मात्रैको पनि विशेष अर्थ रहनेछ । यसैले उहाँलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको समर्थन गर्दै सबै माननीयज्यूहरूलाई उहाँको पक्षमा मतदान गर्नका लागि अनुरोध गर्दछु ।
जानेबेलामा मैले केही चाहिँ भन्नैपर्छ । यो सदनमा धेरैचोटि सुनियो - ‘चेली’ । महिलाहरूलाई, महिला नेतृहरूलाई चेली भनेपछि पुरुष नेताहरूलाई चेला भन्छौँ ? त्यस्तो भन्या सुनेको त छैन । त्यसकारण कृपया मेरो आह्वान छ - महिला नेतृलाई सम्बोधन गर्दा चेली नभनियोस् । यदि आत्मीयता नै देखाउनु छ भने, ३३% न्यूनतम हो, ५०% महिला यो सदनमा पठाइयोस् । धन्यवाद ।