शिक्षक सरुवा निर्देशिका
सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको सरुवालाई सरल, सहज, व्यवस्थित, अनुमानयोग्य, वस्तुनिष्ठ र पारदर्शी बनाउन शिक्षक सरुवा निर्देशिका बनाएको छ। निर्देशिकामा शिक्षकले सरुवाका लागि आफैँ विभिन्न ठाँउमा धाउनुपर्ने व्यवस्था अन्त्य गरिएको छ।
निर्देशिकामा आवश्यकताअनुसार शिक्षकको पद रिक्त भएपछि त्यसको जानकारी एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS)मा राखेर सात दिनभित्र सम्बन्धित स्थानीय तहलाई जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ। त्यस्तो सूचना स्थानीय तहले आफ्नो वेबसाइट समेत प्रकाशन गर्नु पर्नेछ। स्थानीय तहले अद्यावधिक गरेको रिक्त पदको विवरण केन्द्रले आफ्नो वेबसाइटमा सबैको जानकारीका लागि राख्नु पर्नेछ।
रिक्त पदमा सरुवा हुन इच्छुक शिक्षकले शिक्षा नियमावलीको अनुसूची १७ बमोजिम आफू कार्यरत विद्यालयको सहमति सहित निवेदन दिन सक्ने छन्। आवश्यक कागजातसहित निवेदन दिने म्याद समाप्त भएको दिन सम्बन्धित प्रधानाध्यापकले विवरण प्रमाणित गरी विद्यालयको वेबसाइट र सूचना पाटीमा निवेदकको विवरण टाँस गर्नु पर्नेछ।
यस्तै निर्देशिकामा सरुवाका लागि प्राथमिकता क्रम निर्धारणको कार्यविधि पनि राखिएको छ। निवेदन दिने म्याद समाप्त भएको मितिले तीन दिनभित्र प्राथमिकता क्रममा सबैभन्दा अगाडि परेका निवेदक शिक्षकलाई विद्यालयले सरुवा सहमति प्रदान गर्नु पर्ने प्रावधान राखिएको छ।
विशेष अवस्थामा जुनसुकै बेला सरुवा, गुनासो ७ दिनभित्र सम्बोधन गर्नुपर्ने व्यवस्था र शिक्षकसम्बन्धी सम्पूर्ण कार्य गर्न सकिने शिक्षक पोर्टलको परिकल्पना पनि गरिएको छ ।
शिक्षण पेशालाई गुणस्तरीय, आकर्षक र मर्यादित बनाउने हाम्रो प्रयास हो। शिक्षकको सरुवा, बढुवा, कार्यसम्पादन मूल्याङ्कन, तालिमलगायतमा सुधार र पारदर्शीता यो निर्देशिका प्रस्थानबिन्दु हुनेछ ।
पूर्णपाठ
पिडिएफ डाउनलोड