Opensource model for problem solving
धेरै परिक्षार्थी सरिक हुने परीक्षामा केन्द्र तोक्ने बेला विभिन्न चलखेल हुने खबर आइरहेकोमा परीक्षा केन्द्रहरू स्वचालित विधिबाट तोक्ने निर्णय भयो । पहिलो चरणमा काठमाडौं जिल्लामा कक्षा १२ को परीक्षामा लागु गरिएको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको प्राविधिक टोलीले ‘पाइलट प्रोजेक्ट’को रूपमा एक स्कृप्ट लेखी काठमाडौँ जिल्लाका कक्षा १२ का परीक्षा केन्द्र स्वचालित विधिबाट निर्धारण गरिएको थियो ।
यस विधिबाट परीक्षा केन्द्र छान्दा परीक्षा केन्द्रसँग सम्बन्धित अनियमितताहरु निरुत्साहित हुनेछन् भने विद्यार्थीहरुको हैरानी पनि कम हुनेछ। हरेक विद्यालयका परीक्षार्थीको सङ्ख्या र परीक्षा केन्द्रको सिट सङ्ख्याको आधारमा विद्यालय र केन्द्रको latitude, longitude को आधारमा दूरी निकालिएको थियो। प्रत्येक पटक परीक्षा केन्द्र तोक्न प्रोग्राम चलाउँदा फरक फरक नतिजा आउने गरी ‘ऱ्यान्डमाइज’ गरिएको छ।
ओपन सोर्सको मान्यता अनुरुप यस स्कृप्टलाई मन्त्रालयको गिटहबमा राखेर अझै सबल र पूर्ण स्वचालित बनाउन सुझाव दिन आह्वान गरिएको थियो। यस अनुरुप १५ भन्दा बढि स्वयंसेवकहरूले योगदान दिनुभई शुरुवाती स्कृप्टलाई चलाउन सजिलो प्रोग्राममा परिणत गरिदिनु भयो ।
यस कदमलाई सूचना प्रविधि क्षेत्रमा कार्यरत नेपालीहरूले निकै सराहना गर्नुभएको पाइयो । यस्ता खाले अन्य कामहरूमा पनि गिटहबबाट जनसहभागिताको लागि आह्वान गरिएको छ।