जीवनी

“मेड इन नेपाल” लेखिएको ब्याग ढाडमा भिरेर, दायाँ काँधमा टिफिन सहितको टोट ब्याग झुन्ड्याएर, हातमा विद्युतीय कारको चाबी खिन्द्रिङ खिन्द्रिङ बजाउँदै सुमना श्रेष्ठ सिंहदरबार स्थित संघीय संसद् सचिवालय पुग्छिन् ।
सचिवालयमा कार्यरत केही महिला कर्मचारीसँग भेट्छिन् । यत्तिकैमा त्यहाँ कार्यरत सुरक्षाकर्मीले उनलाई भन्छिन्, “तपाईँ त विदेशीजस्तै देखिनुहुन्छ ।”
आश्चर्यचकित भएर आँखीभौँ तन्काउँदै उनले किन त्यस्तो लाग्यो भनि सोध्छिन् । “आफ्नै ब्याग झोला भिर्नु भा’ छ पछाडि, टिफिन खाजा नि आफैँ लिएर आउनुभो । सांसदको लोगो नि नदेखिनेगरि लाउनु भा छ । एकदम विदेशीजस्तै”, ती सुरक्षाकर्मीले प्रष्ट पार्छिन् ।

सुमना श्रेष्ठ संघीय संसद् अन्तर्गत दोश्रो प्रतिनिधिसभाकी सदस्य हुन् । समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको जनजाति समूहको प्रतिनिधिका रूपमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत चुनिएकी हुन् ।

सुमनाले अमेरिकाको मासाचुसट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमाईटी) स्लोन स्कूल अफ म्यानेजमेन्टबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर (एमबिए) गरेकी छिन् । त्यसभन्दा अघि उनले अमेरिकाकै ब्रिन मार कलेजबाट अर्थशास्त्रमा र ह्याभरफर्ड कलेजबाट गणितमा स्नातक गरेकी हुन् ।

वि.स. २०७२ सालभन्दा अघि सुमना अमेरिकास्थित बोस्टन कन्सल्टिङ ग्रुप (BCG) मा परामर्शदाताका रूपमा कार्यरत थिइन् । त्यसअघि ट्रेड अनालिस्ट (वाणिज्य विश्लेषक) का रूपमा सिटीग्रुपमा समेत काम गरेकी थिइन् । जब वि.स. २०७२ सालमा नेपालमा महाभूकम्प गयो, तब उनको जीवनको लेन बद्लियो । भूकम्पपछि नेपालमा विश्व खाद्य कार्यक्रम (WFP) सँग काम गर्न बोस्टन कन्सल्टिङ ग्रुप (BCG) ले उनलाई नेपाल पठायो । त्यसपछि उनी अमेरिका फर्किइनन् ।

सुमनाले नेपाललाई नै कार्यक्षेत्र बनाएर काम गर्न थालेपछिका वर्षहरूमा उनी नेपाल र नेपालीका लागि सञ्चालन भएका विभिन्न अभियान र कार्यक्रममा आधारभूत तहमै संलग्न भएकी छिन् । भूकम्पपछि प्रवासी नेपालीहरूमार्फत प्राप्त भएको सहायता सामग्री सङ्कलन र वितरणमा संयोजन गरेर होस् वा काष्ठमण्डप पुनर्निर्माणसम्बन्धी उपसमितिलाई नेतृत्व गरेर अथवा रानीपोखरी बचाउ अभियानमा सक्रिय रहेर, उनी तत्काल आवश्यक सहयोग, सहायता देखि पुनर्निर्माणसम्मका गतिविधिमा सक्रिय रुपमा सहभागी भइन् । यति मात्रै नभई कोभिड - १९ महामारीका बेला समेत नेपाली नागरिकलाई कोभिड - १९ विरुद्धको खोप प्रदान गर्न अमेरिकी सरकारलाई त्यहाँको सिनेटमार्फत अनुरोध गरिन् ।

COVID Alliance 360 Impact awards

सुमना आफैँमा परोपकारी र सहयोगी हृदयकी त छिन् नै, त्यसका साथै उनी एक सफल उद्यमी पनि हुन् । उनले कारपुल काठमाडौँ (Carpool Kathmandu) र मेडिकेसन फर नेपाल (Medication For Nepal - जसलाई अमेरिकी राष्ट्रपति बाराक ओबामाले सन् २०१६ मा क्यालिफोर्नियामा भएको ग्लोबल अन्टरप्रेनरसिप समिटमा खुल्ला हृदयले प्रशंसा गरेका थिए) लगायतका परियोजनाको सुरुवात गरेकी छिन् । नाकाबन्दीका कारण देखापरेको इन्धनको समस्यामा नागरिकलाई थोरै भए पनि राहत दिने गरी सुरु गरिएको कारपुल नेपाल र विशेषतः महाभूकम्प पछिको अवस्थामा औषधिजन्य आवश्यकतालाई पूर्ति गर्ने उद्देश्यले सुरु गरिएको मेडिकेसन फर नेपाल दुवै सफल परियोजना हुन् ।

बहुमुखी प्रतिभा र ज्ञानकी धनी सुमना गणितमा पनि दख्खल राख्छिन् । गणितमा पनि स्थानविज्ञान (टोपोलोजी) र ज्यामितिमा उनको विशेषज्ञता छ । उनले व्यवस्थापन परामर्श दाताका रूपमा काम गरिसकेकी छिन् । यसका साथै उनले कोसी कोल्याबोरेटिभ (Kosi Collaborative - व्यवस्थापन तथा प्राविधिक परामर्शदाता कम्पनी), नोवाला बायोटेक (Novala BioTech - स्वास्थ्य उपकरण सामग्री उत्पादन) र बटुका क्रिमरी (आइसक्रिम पार्लर) लगायतका उद्यम स्थापना गरेकी छिन् ।

प्रविधि र अर्थशास्त्रमा विज्ञता भएकी राजनीतिज्ञको रूपमा सुरुवाती चरणमा सुमनाको मूलतः तीनवटा प्राथमिकता छन् । पहिलो रोजगारीको सिर्जना गर्ने (विशेषतः प्रविधिको क्षेत्रमा), दोश्रो नेपालको विकासको मुद्दामा प्रवासी नेपालीहरुलाई संलग्न गराउने र तेस्रो राजनीतिज्ञहरूको राजनीतिक उत्तराधिकारीको योजना सञ्चालन गर्ने हो ।

नेपालको राजनीतिक परिदृश्यमा कुनै नायक वा मसीहा होइन, एउटा दीर्घकालीन स्वचालित प्रणालीको खाँचो छ । सुमना त्यो निर्माण गर्न उद्यत छिन् । उनलाई तपाईँहरू सबैको साथ, सहयोग र सद्भावको आवश्यकता छ ।

“हाम्रो वरिपरि जे भइरहेको छ, त्यो मलाई बिल्कुल ठिक लागेको छैन । जे कुराहरू जसरी भइरहेको छ, त्यो सन्तोषजनक देखिँदैन । त्यही कुरा अर्को तरिकाले गर्दा केही बढी उत्पादक हुन्छ कि भनेर प्रयास गर्छु । केही फरक गर्न सकिन्छ कि भन्ने हुटहुटी छ । यस्तै कुराले काम गर्न प्रेरित गर्छ । परिवर्तन हामीले नै ल्याउने हो ।”

sumana with her granny